9866032871
hilepanisecondaryschool@gmail.com
वि.स.२०३१ अघि लापिलाङ गाउँ पञ्चायत वडा नं १ हिलेपानीमा कुनै प्रावि नरहेको र लापिलाङको पुराना गाउँको पोखरेमा एक लापिलाङ प्रावि मात्र भएकाले यस क्षेत्रका व्यक्तिहरू अध्ययनका लागि छिमेकी गाउँ पञ्चायत तथा अन्य विभिन्न स्थानमा जानुपर्ने अवस्था रहेको थियो । २०२८ साल वैशाखमा विद्यालयको माग गरी यस स्थानमा विद्यालय सञ्चालन गर्नुपर्छ भन्ने अवधारणा बनाई तत्कालीन हिलेपानीका अग्रज व्यक्तित्व स्व. अनिरूद्र घिमिरेको नेतृत्वको स्व. देवानन्द घिमिरे स्व. पृथी बहादुर कार्की, स्व. याम बहादुर कार्की, स्व. कुल बहादुर कार्की, विष्णु बहादुर कार्की, स्व. मुक्तिनाथ घिमिरे, पं. विष्णु रुद्र घिमिरे, कृष्ण प्रसाद न्यौपाने, रत्न बहादुर कार्की लगाएत व्यक्तिहरूको सक्रियतामा गाउँको भेला बैठक वसी यस हिलेपानी ठुलो पँधेरो छेउमा हिलेपानी प्रावि नामाकरण गरी विद्यालय स्थापनाको सुरुवात गरिएको थियो । २०३० सालको हिँउँदमा हिलेपानी अनिरूद्र घिमिरेको अगुवाइमा गाउँलेहरू जम्मा भई एक विद्यालय भवन बनाई थाङबारूका शंकर भण्डारीलाई महिनाको रु १० दिनेगरी पढाउन लगाइएको थियो । २०३१ साल फागुन १२ गते जिल्ला शिक्षा कार्यालय चरिकोटबाट एक पत्र लेखी चिलङ्खा खार्ताल हिमखण्डे प्राविका शिक्षक माणिकलाल श्रेष्ठलाई लापिलाङ प्राविमा सरूवा गरी तिनै शिक्षकलाई खटाई हालको स्थानमा लापिलाङ प्रावि शाखा हिलेपानी भनी पठनपाठन सुरुवात भएको थियो । २०३१ सालको फागुन १३ गतेबाट पठनपाठन सुरु गर्दाकक्षा १ मा १० जना विद्यार्थीहरू भर्ना भएका थिए । त्यसै समयमा कृष्णप्रसाद न्यौपानेले पनि स्वयंसेवक शिक्षक बनेर पढाउन जिम्मेवारी दिइएको थियो । २०३२ पौष ५ गते अघि विद्यालय लापिलाङ प्रावि शाखा हिलेपानीका रूपमा चलेको र सो मितिबाट हिलेपानी प्राविले स्वीकृति पाई प्रअको रूपमा कृष्ण प्रसाद न्यौपानेले जिम्मेवारी सम्हाल्नुभएको थियो । यसरी विद्यालयले प्रावि कक्षा १–३ को स्वीकृति एकैपटक २०३२ सालमा पाएको थियो । त्यसै गरी निमावि तहको कक्षा ४ वि.सं. २०३३ साल पौषबाट सञ्चालन भएको थियो । यस समयमा प्रकाश लामाले प्रअ भई जिम्मेवारी सम्हाल्नुभएको थियो । विद्यालयले २०३४ सालमा कक्षा ५, २०३६ सालमा कक्षा ६ र २०३७ सालमा कक्षा ७ सञ्चालनको स्वीकृति पाइ पठनपाठन कार्यलाई अघि बढाएको थियो । निमावि तह २०४१ सालसम्म सञ्चालन हुँदा विद्यालयमा कविन्द्रदास श्रेष्ठ, कुमुदराज योगी, देवीरमण उपाध्याय, विनोद पाण्डे र केशव कार्कीले प्रअ भई विद्यालयको कामकाज गर्नुभएको थियो । त्यसैगरी यस विद्यालय २०४२ साल फागुनमा कक्षा ८ स्वीकृत भएर २०४३ मा कक्षा ९ को पठनपाठन सञ्चालन भएको थिथो । कक्षा ६ देखि संस्कृत भाषाको पठनपाठन सुरू भएको थियो । त्यससमयमा संस्कृत भाषाको पठनपाठन गर्न शिक्षकहरू विष्णुप्रसाद ढुङ्गाना सूर्यकान्त र चन्द्रकान्त ढुङ्गानालाई झिकाइएको थियो । उहाँहरूको विदाइ पछि कक्षा ९ सञ्चालन हुन नसकी फेरि कक्षा ८ मै सीमित रहनुपरेको थियो । यो क्रम २०४६ सम्म रह्यो । प्रअ देवराज शर्माको आगमन पछि २०४६ मा कक्षा ९ सञ्चालन भयो । साथै कक्षा १० वि.सं. २०४८ सालमा सञ्चालन गरी यस विद्यालयले पहिलोपटक १३ जना विद्यार्र्थीएसएलसी परीक्षामा सहभागी गराएको थियो जसमा एक जना विद्यार्र्थीलापिलाङका पदम श्रेष्ठ उत्तीर्ण भएका थिए ।तत्कालीन समयमा संस्कृत भाषा शिक्षकको रूपमा विष्णुप्रसाद ढुङ्गाना, हरिहर न्यौपाने र विजयनाथ पौडेल हुनुहुन्थ्यो । त्यसै गरी २०५० सालदेखि कक्षा ८ बाट ज्योतिषशास्त्र विषयको पठनपाठन सुरुवात गरिएको थियो । यो विषयको पठनपाठनका लागि रामलाल पन्थीलाई शिक्षकको रूपमा निम्त्याइएको थियो । यस विद्यालयमा शिक्षक दरबन्दी तत्कालीन समयमा प्रावि ५, निमावि ४ र मावि ५ वटा थिए । २०५१ सालमा विश्वनाथ श्रेष्ठ प्रधानाध्यापक २०५२ सालमा करिब डेढ वर्ष रामलाल पन्थीले प्रधानाध्यापक भइ कार्य गर्नुभएको थियो । वि.सं. २०५४ सालमा कृपाश्वर खड्का प्रधानाध्यापक प्रअ भएपछि विद्यालयले थप उचाइ प्राप्त गरेको थियो । यस विद्यालयमा संस्कृत भाषाको पठनपाठन २०५८ सम्म निरन्तर रही २०५८ सालदेखि संस्कृत भाषाको पठनपाठन अवरूद्ध भई साधारण धारको विषय पठनपाठनको अनुमति लिई पठनपाठन सुरुवात गरियो । विसं २०६० देखि साधारण धारको पाठ्यक्रममा आधारित भई एसएलसी परीक्षामा सहभागी गराइएको थियो । साधारण धारको पठनपाठन २०६४ सालसम्म रह्यो । वि.सं. २०६४ सालबाट विद्यालयले उच्च मावि तह अध्यापनका लागि अनुमति पाइ कक्षा ११ र १२ मा शिक्षा सङ्कायका विभिन्न विषयहरू पठनपाठन सञ्चालन भइरहेको छ । पुनः् २०६५ सालबाट संस्कृत शिक्षा अनिवार्य गरी पठनपाठन गरियो । २०७४ सालसम्म संस्कृत भाषामा पठनपाठन अनिवार्य गर्दा विद्यार्र्थीसंख्या पनि कम हुदै गए र संस्कृत भाषा अध्ययन गर्नुपर्ने अनिवार्य व्यवस्थाका कारण विद्यार्र्थी घट्दै गए, साथै संस्कृत भाषाको शिक्षक व्यवस्थापन तथा स्थानीय र केन्द्रीय तहबाट बजेट व्यवस्थापन हुन नसक्दा पछि पुनः साधारण धारको पाठ्यक्रम आधारित पठनपाठन सुरु गरियो । यो क्रम हालसम्म चलिरहेको छ ।
विद्यालय नै सरस्वतीको मन्दिर पनि हो, तसर्थ विद्यालयप्रतिको आस्था र जिम्मेवारीलाई आत्मासात् गर्दै विद्यार्थीहरूमा नैतिक शिक्षाप्रतिको महत्वबोध गराउन विद्यालयको प्राङ्गणमा विसं २०८० मा विद्यापति घिमिरे समाजले सरस्वतीको मन्दिर निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । यसरी समाज परिवर्तनको बाटो शिक्षालाई ठान्दै २०३१ सालमा यस विद्यालयको स्थापना गर्न प्रमुख भूमिका निर्वाह गर्दै विभिन्न व्यक्तिहरूको सहकार्यमा प्राथमिक विद्यालय स्थापना गरी त्यतिमा मात्र सीमित नगरी निमावि, मावि र उच्च मावि तहमा स्तरोन्नति गर्न बेजोडको लगान, अद्वितीय साहस, अनुपम जिज्ञासा मात्र सफलताको द्योतक ठानी हाल जुन परिवेशमा कक्षा १२ सञ्चालन छ यसको अग्रज भूमिका संस्थापकज्यूहरूको जुन प्रयास छ त्यो साच्चिकै नैतिक धीर गम्भीर अनुशासित तथा सारगर्भित मानव समाज वास्तविक ज्ञानमा अडिग रहन सक्छ । यी सबै तथ्यहरूलाई हेर्दा विद्यालय स्थापना गर्न जुन कार्य अग्रजहरूले गर्नुभएको छ त्यो साँच्चिकै अतुलनीय कार्य हो । यस्ता कार्यबाट हामीलाई स्पष्ट मार्गनिर्देशन प्राप्त भएको छ ।